Wednesday, February 19, 2014

लाङटाङका स्थानीय हिमचितुवाको अनुगमन र संरक्षणमा जुट्दै


निराजन पौडेल
रसुवा
हिमाली राजा भनेर चिनिने विश्वकै दुर्लभ तथा लोपउन्मुख वन्यजन्तुमा सुचिकृत हिमचितुवा संरक्षणमा लाङटाङका स्थानीय त्यसको अबस्था बारे अनुगमनमा जुट्ने भएका छन् ।
स्थानीयले अनुगमनका लागि चार वर्ष अघि देखि आफैले हिमचितुवा संरक्षणमा समिती समेत बनाएका छन् । हिमचितुवा संरक्षणमा बनेको समिती र विश्व वन्यजन्तु कोष सहितको टोली फाल्गुणको तेस्रो हप्ता बाट हिमचितुवाको अबस्था, र बासस्थानको बारेमा अनुगमन गर्ने तयारीमा लागेको लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका प्रवन्ध निर्दैशक गौतम पौड्यालले बताए ।
लाङटाङ क्षेत्रमा हिउँ चितुवा छैन लोप भईसक्यो भनेर परस्पर बिरोधाभास पुर्ण खबर आउन थालेपछि स्थानीय आफ्नै सक्रियतामा यसको अनुगमनका लागि जुट्ने भएका हुन् । हिउ चितुवा संरक्षण समितीले हिउँ चितुवाको अनुगमन र संरक्षण सम्बन्धि तालिम समेत लिईसकेका छन् । हिउँ चितुवा संरक्षण समितीमा स्थानीय कञ्चनजंगामा गएर हिउँ चितुवा अनुगमनबारे जानकारी समेत लिएर आईसकेको विश्व वन्यजन्तु कोष तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना प्रवन्धक पौड्यालले बताए । हाल स्थानीय हिउँ चितुवाको अनुगमन र बासस्थानका लागि हिमालमा जानका लागि ट्रेकिङ तालिम लिईरहेको निकुञ्जले जनायो ।
हिमचितुवाको संख्या एकिन नभए पनि यसको अबस्था के छ भनेर अहिले गाउँका सबै स्थानीय यसको अनुगमनका लागि जुट्ने तयारी भईरहेको लाङटाङ हिउँ चितुवा संरक्षण समितीका अध्यक्ष सोनाम साङ्बो तामाङले बताए । ‘चार वर्ष अघि सम्म ६ देखि ७ वटाको संख्यामा रहेको अनुमान थियो, अहिले दुई वटा सम्म छन् कि भन्ने अनुमान हामिले गरेका छौ, तामाङले भने ‘अब फागुनको अन्तिम साताबाट हिमचितुवाको अनुगमनका लागि हिमालमै गएर बुझ्दैछौ ।’ उनका अनुसार हिमचितुवा अनुगमनका लागि सात दिन सम्म हिमालमा क्याम्प खडा गरेर बस्ने तयारी भईरहेको छ । हिमचितुवाको अनुगमन र अबस्था पत्ता लगाउनका लागि विश्व वन्यजन्तु कोषका पदाधिकारी र लाङटाङमा हिम चितुवा संरक्षणमा सक्रिय भएका स्थानीय हिमालमा अध्ययनका लागि जाने तामाङले बताए । लाङटाङ घम्न आएका एक स्वीजरल्याण्डका नागरिकले सात महिना अघि हिउँचितुवाको तस्बिर समेत कैद गरेकाले हिउँ चितुवा भएको अनुमान गर्न सकिने अध्यक्ष तामाङ बताउँछन् । हिम चितुवा दैनिक ४० किलोमिटर प्रतिगतिमा हिड्ने र यसको बासस्थानको दुरी लामो भएकाले तिब्बती क्षेत्र तर्फ गएको हिमचितुवा फर्केर आउ जाउँ गर्ने सक्ने अनुमान छ । विश्वमै तिब्र गतिमा लोपोन्मुख हिउँ चितुवाको शारिरीक बिशेषता र यसको प्राकृतिक जीवनचक्र र मानव सभ्यताको गहिरो सम्बन्ध रहेको छ । यसको बिनासले मानव सभ्यतानै बिनास तर्फ लागिरहेको वातावरणबिदहरु बताउँछन् ।
जलवायु परिवर्तन सँगै यसको प्रभावले हिउँ चितुवामा परेको प्रभाव र यसको संरक्षणका लागि स्थानीयले हिमालमै बसेर अध्ययन र अबलोकन गर्नेछन् । पालेका पशुचौपाया खाईदिने हुदाँ हिमाली भेग लाङटाङका स्थानीयले परम्परागत सत्रु मान्दै आएकोमा अब भने यसको संरक्षणमा गाउँका सबै एक जुट भएर लाग्दैछन् । हिमचितुवालाई हानि नोक्सान नहोस भनेर लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले पशु बिमाको कार्यक्रम समेत गरेको छ । स्थानीयले पशु चौपायाको नोक्सान गरेको रिस र आवेगमा आएर हिमचितुवा नमारियोस भनेर पशु बिमाको अबधारणा ल्याएको निकुञ्जले जनाएको छ । प्राकृतिक पद्धति अर्थात् ईको सिस्टमका लागि लोप हुन नहुने यो जनावरको संख्याको अबस्था के कस्तो छ भन्ने पत्ता लगाउनका लागि पनि स्थानीय संरक्षण र अनुगमनका लागि जुट्ने भएका हुन् । हिमचितुवा संरक्षण र अनुगमनका लागि जिल्लामा पहिलो पटक यसरी स्थानीय जुट्दै छन् ।
प्रारम्भिक अनुगमन अनुसार विश्वमा हिमचितुवा सात हजारको हाराहारीमा र नेपालमा तीन सय देखि पाँच सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । यो वन्यजन्तु विश्वको १२ मुलुकमा पाईन्छ । हिमचितुवालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । नेपालको पुर्वी कञ्चनजंगा संरक्षण क्षेत्र देखि पश्चिमको अपिनम्पा संरक्षण क्षेत्र भित्रका १२ निकुञ्ज, शिकार आरक्षण र संरक्षण क्षेत्र भित्रको हिमाली भेगमा पाईन्छ ।


Sunday, September 29, 2013

नुवाकोट साहित्य यात्रा सँगै ६ स्रष्टा सम्मानित


नुवाकोट साहित्य प्रतिष्ठानले राजधानी काठमाण्डौ देखि रसुवाको मैलुङ सम्म दुई दिने साहित्य यात्रा सम्पन्न ग¥यो । उक्त अबसरमा नुवाकोट साहित्य प्रतिष्ठानले साहित्य, शिक्षा र समाज परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दे आएका पाँच जना स्रष्टा सम्मानित भए ।
प्रतिष्ठानले जिल्लामा रहेर समाज परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका त्रिशुली प्लसका अध्यक्ष अच्युत सिटौला सम्मानित भए । उनले जिल्लामा बसेर आफु एचआईभि संक्रमितहरुको उद्धार, हेरचाह र समाज परिवर्तनका लागि भन्दै त्रिशुली प्लस नामक संस्था खोलेर सेवा दिदै आएको छ । त्यस्तै साहित्य विधामा कलम चलाउने मञ्जु दाहाल, र रामकृष्ण गजुरेल सम्मानित भए । शिक्षा सम्मान तर्फ लामो समय शिक्षा क्षेत्रमा बिताएका श्यामसुन्दर श्रेष्ठ, दिव्यराज शाक्य र रामप्रसाद जोशी सम्मानित भएका भए । यि सवै सम्मान बरिष्ठ साहित्यकार पुष्कर लोहनी, युवराज नयाँघरे संयुक्त रुपमा प्रदान गरेका थिए ।
नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठको सभापत्विमा भएको साहित्य सम्मान कार्यक्रममा सम्मानित स्रष्टाहरुले बोलेका थिए । उक्त साहित्यिक कार्यक्रममा साहित्य यात्रामा आएका मणि लोहनी, युवराज नयाँघरे, पुष्कर लोहनी, लगाएतले कविता, मुक्तक र गजल वाचन गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष साहित्य सम्मान  अन्र्तगत महामण्डली साहित्य पुरष्कार तीन जनालाई प्रदान गर्ने गरेको प्रतिष्ठानका सदस्य बद्री मुडभरीले बताए ।

Wednesday, September 25, 2013

दर्ता बिना सञ्चालित ईट्टा उद्योगलाई कारबाहीको तयारी



निराजन पौडेल
नियम बिपरित जिल्लाभर सञ्चालनमा आएका ईट्टा उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले कारबाहीको दायरामा ल्याउने भएको छ । जिल्लाको बिदुर नगरपालिका, खानीगाउँ, गणेशस्थान, रातमाटे लगायतका गाबिसमा ईट्टा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेका डेढ दर्जन ईट्टा उद्योगलाई कार्यालयले सात दिने सुचना समेत प्रकाशित गरिसकेको छ ।
सञ्चालनमा आईरहेका ईट्टा उद्योगलाई नियमनमा ल्याउन झन्झटिलो दर्ता प्रक्रिया भएकाले कानुनी प्रक्रियामा ल्याउन समस्या भईरहेको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटका प्रमुख विश्वप्रेम ढकालले बताए । ईट्टा उद्योग दर्ताका लागि प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन गर्नुपर्ने हुन्छ । तर, ईट्टा उद्योगले वातावरणीय प्रभाव मुल्याङ्कनको प्रक्रिया नै नपु¥याई उद्योग सञ्चालन गरेका छन् । ईट्टा उद्योगले घरेलु को बिभागबाट स्वीकृति लिए पछि जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले उद्योग सञ्चालनका लागि प्रमाणपत्र दिने व्यवस्था छ ।
बढ्दो शहरीकरण तथा ग्रामिण भेगमा पनि घर निर्माणको कार्यका लागि ईट्टाको प्रयोग गर्नेको संख्या बढेपछि पछिल्लो समय नगर क्षेत्र भित्रै ईट्टा उद्योग सञ्चालन भईरहेका छन् । दुई वर्ष अघि नेपाल सरकारले पुरानो प्रविधिको ईट्टा उद्योगको नविकरण नगर्ने निर्णय गरेपछि जिल्लामा एउटा मात्र आधुनिक ईट्टा उद्योग दर्ता भएर सञ्चालन भईरहेको घरेलु तथा साना उद्योग विकास समिती नुवाकोटका प्रमुख विश्वप्रेम ढकालले बताए । ‘पुरानो प्रबिधिलाई निरुत्साहित गर्दै आधुनिक प्रबिधीको ईट्टा उद्योग दर्ताका लागि मान्यता दिन सरकारले निर्णय गरेको छ,’ कार्यालय प्रमुख ढकालले भने, ‘तर पुरानो प्रबिधिको ईट्टा उद्योग दर्ता नवीकरण नहुने हुदाँ त्यस्ता उद्योगलाई आधुनिक बनाउन भनेका छौ मानिरहेका छैनन् हामीले सात दिने सुचना प्रकाशित गरेका छौ, ढकालले भने अब हामी कारबाही गर्ने तयारीमा छौ ।’
पुरानो प्रविधीको ईट्टा उद्यागबाट निस्कने धुवाँको मुस्लोबाट वातावरणी क्षेत्रमा प्रभाव परेको र दाउरा प्रयोगबाट वनजंगल बिनास हुने क्रम बढ्न थालेको भन्दै उद्योग विभागले दुई वर्ष अघि पुरानो उद्योगको नविकरण नगर्ने र नयाँ आधुनिक ईट्टा उद्योगका लागि मात्र नविकरण र दर्ता गर्ने निर्णय गरेको थियो । नयाँ तथा आधुनिक ईट्टा उद्योग पत्थर, कोईला र विजुलीबाट  सञ्चालन हुने हुदाँ वातावरणीय क्षेत्रमा त्यसको प्रभाव कम रहने हुदाँ आधुनिक उद्योगमा सञ्चालनका लागि प्रोत्साहन गरेको हो ।
चार वर्ष अघि जिल्लामा ७ वटा पुरानो ईट्टा उद्योग दर्ता भएर सञ्चालनमा रहेका मध्ये कुनै पनि उद्योगले नयाँ प्रबिधिमा जानका लागि बिभागबाट स्वीकृती नलिएकोले पुरानो प्रबिधीको ईट्टा उद्योगलाई घरेलु तथा साना बिकास कार्यालयले खारेजी गरेको छ । कार्यालयले खारेजी गरेपनि ति उद्योगहरुले धमाधम पुरानै प्रबिधिमा ईट्टा उद्योग सञ्चालन गरिरहेका छन् । कतिपय उद्योगले वातावरणीय प्रभाव मुल्यांकन नै नगरी बिदुर नगर क्षेत्रमा सञ्चालनमा आईरहेको कार्यालयले जनाएको छ । वातावरण प्रभावको असर र स्वीकृति नै नलिई सञ्चालन भएका ति उद्योगले कर तिर्दैनन् । जसका कारण घरेलु उद्योग कार्यालयले बार्षिक करोडौको राजस्व गुमाउदै आईरहेको छ ।
उद्योग बिभागमा पुरानो प्रबिधिबाट ईट्टा उद्योग सञ्चालन गर्न दर्ता भएका बिदुर नगरपालिका ४ मा रहेको महर्जन ईट्टा उद्योग,लक्ष्मी ईट्टा उद्योग, नारायण ईट्टा उद्योग, बिदुरनगरपालिका ८ मा रहेको एमएमडी ईट्टा उद्योग र रातमाटेमा रहेको नुवाकोट ईट्टा उद्योगले स्वीकृति लिएर सञ्चालनमा थिए । यि उद्योग मध्ये रातमाटेमा रहेको नुवाकोट ईट्टा उद्योगले मात्र आधुनिक प्रबिधीमा सञ्चालन गर्ने गरी अनुमति लिएको घरेलु तथा साना बिकास कार्यालयले जनाएको छ ।

किसानहरु चौरिपालन व्यवसाय तर्फ आकर्षित




निराजन पौडेल
रसुवा
दुध उत्पादन केन्द्रले किसानहरुले पाउँदै आएको दुधको मुल्य बढाएपछि रसुवाका उच्च हिमाली भेगका किसानहरु चौरी पालन व्यवसाय प्रति आकर्षित भएका छन् । बिगतमा चौरी पालन व्यवसाय छाडेर बसेका कतिपय किसानहरु अहिले दुधको मुल्य बढेपछि यस पेशा तर्फ लागेका छन् ।
‘पहिला दुधको मुल्य कम थियो चौरीको गोठालो गर्दैमा ठिक्क हुन्थ्यो, ’चौरी पालक किसान चेम्बरसिंह तामाङले भने, ‘अब चाही केही हुन्छ कि भन्ने आशा छ,केही चौरी थप्ने सोचमा छु ।’ तमाङ जस्तै जिल्लाको १६ जना भन्दा बढि किसान चौरी पालन व्यवसाय तर्फ फर्किएका छन् । चौरी पालन व्यवसायबाट जीविकोनिर्वाह नहुने भन्दै चौरी पालन व्यवसायलाई छाडेर घरमा बस्दै आएका किसानहरु यस व्यवसाय तर्फ फर्किएका हुन् ।
जिल्लाको हिमाली क्षेत्रमा चिज, छुर्पी, मखन उत्पादनका लागि चौरीको दुध प्रमुख स्रोत मानिन्छ । जिल्लाको पर्यटकीय स्थल लाङटाङ, गतलाङ, चन्दनबारी चिज उत्पादन केन्द्रले चिज उत्पादनका लागि डिडिसीले पहिला प्रतिलिटर ४० रुपयाँ दिदै आएकोमा हाल बढाएर ५५ रुपयाँ पु¥याएपछि किसानहरु उत्साहित भएका हुन् । बीस देखि तीस वटा चौरी पालन गर्दै आएका कृषकलाई गोठ राख्न र खर्कको समस्या परे पनि अहिले दुध बिक्रि गरी घर खर्च चलाउन मनग्गे पुग्ने गरेको कृषक बताउँछन् । चौरीको दुध बाट मखन,घिउ तथा याक चिज उत्पादन गर्ने गरिन्छ ।
उच्च पहाड कृषि ब्यबसाय जिबिको पार्जन सुधार आयोजना समेतले चौरि पालन गर्ने कृषको सहकारीलाई सहयोग आर्थिक सहयोग प्रदान गरेको छ । जिल्लाको उत्तरी भेगको लाङटाङ,स्याफु्र,गत्लाङ,बृद्धिम चिलिमे लगायतका गाउँ बिकास समितिमा एक सय पचास भन्दा बढि कृषकले चौरीपालन गर्दै आएको जिल्ला पशु सेवा कार्यालय रसुवाले बताएको छ ।

गोबरग्यास चुल्होको लोकप्रियता बढ्यो

निराजन पौडेल
रसुवा 
सधै दाउरा बालेर धुवाको मुस्लो भित्र बसेर खाना पकाउदै आएकी रसुवा डाडागाउँ ३ की नीरा गुरुङ आजभोली गोबरग्यास चुल्होबाट खाना पकाउन पाउँदा दंग छिन् । एक दिनभरी दाउरा खोज्न जादाँ घरको काम नभ्याएर दिक्क उनी बायोग्यास चुल्होले घरायसी काम भ्याईएकोमा खुसी छिन् । ‘गत वर्ष देखि गोबरग्यास चुल्होमा खाना पकाउदै आएको छु,’ उनले भनिन्, ‘अहिले त समयको पनि बचत भएको छ,, ५ जनाको परिवारलाई खाना पकाउदाँ घरभरी धुवाँ हुन्थ्यो, पहिले आगो फुक्न दिक्क लाग्थ्यो अहिले स्वस्थ वातावरणमा खाना पकाईरहेको छु ।’
‘पहिला दाउरा खोज्न जंगल चहार्ने पथ्र्यो, अहिले त्यो समस्याबाट मुक्ति पाएका छौ,’ डाडागाउँ १ का स्थानीय डिल्ली प्रसाद सुबेदीले भने । उनले बायोग्यास चुल्हो प्रयोग पछि आफुलाई पहिलाको तुलनामा सहजता भएको बताए । आगो फुक्न पनि नपर्ने ग्यास खोल्यो आगो बल्यो, खाना पनि छिट्टै पाक्ने भएपछि समयको पनि बचत भएको सुबेदी बताउँछन् ।
खाना पकाउँदा गोबरग्यास चुल्होबाट धुवा नआउने, जंगलमा दाउरा खोज्न जान पर्ने झन्झट नहुने र स्वास्थ्यमा समेत लाभदायी हुने भएपछि रसुवा डाडागाउँ गाबिसका स्थानीयमा बायोग्यास चुल्होको लोकप्रियता बढेको छ । अहिले स्थानीयले खाना पकाउनका लागी दाउराको सट्टा बायोग्यास चुल्हो  प्रयोग गर्छन् ।
बैकल्पीक उर्जा प्रवद्धन केन्द्र, जिल्ला बिकास समिती रसुवा, ग्रामिण उर्जा बिकास कार्यक्रम, तथा घर भित्रको धुवाँ निवारण तथा वातावरण संरक्षण मञ्चको संयुक्त कार्यक्रम अन्र्तगत अनुदान सहयोगमा डाडागाउँ गाबिसको १ सय १५ घर लाई प्रतिघर १२ हजारको लगानी गरेपछि किसानहरु गोबरग्यास चुल्हो निर्माणमा आकर्षित भएका हुन् । गाई भैसीको गोबरबाट सजिलै चलाउन सकिने गोबरग्यासँ चुल्हो प्रयोग गर्दा घरभित्रको धुवा पनि निर्मुल हुने र महिलाहरुको स्वास्थ्यमा पनि सुधार आएको छ ।
बायोग्यास चुल्हो प्रयोग पछि बनजंगलमा दाउरा खोज्न जाने प्रचलन अहिले डाडागाउँका स्थानीयमा हटेर गएको छ । एकातिर धुवाबाट निस्कने हानिकारक ग्यासबाट खाना पकाउने महिलाहरुको स्वास्थ्यमा देखिने नकारात्मक असर र धुवाँले वातावरणमा पार्ने प्रभावलाई यस चुल्होले केही हद सम्म न्युनिकरण गरेको घरभित्रको धुवा निवारण तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष बिनोद पौडेल बताउँछन् ।
धुँवाजन्य रोगबाट बार्षिक ९ हजार गृहिणी महिलाले अकालमै ज्यान गुमाउनु परेको र औषोधीउपचारका लागी मात्र ८ अर्व खर्च हने गरेकाले बायोग्यासको प्रयोग पछि ग्रामिण भेगका स्थानीयलाई सहजता भएको पौडेल बताउँछन् । उनका अनुसार डाडागाउँ गाबिस रसुवा जिल्लाकै पहिलो धुवाँ रहित नमुना गाबिस हो ।
परम्परागत चुल्हो र दाउरा प्रयोग गर्ने चुल्होको तुलनामा बायोग्यास चुल्हो लाभदायिक भएकाले पहिला आफैबाट बायोग्यास चुल्होको प्रयोग थालेपछि गाउँलेहरु पनि यस चुल्हो प्रति आकर्षित भएको अध्यक्ष पौडेल बताउँछन् । वातावरण संरक्षण र धुवाँबाट हुने रोगले जनजिवनको बारेमा स्थानीयलाई प्रष्टाउनुका साथै आफैबाट सुरुवात गरेर सबै गाउँलेहरुलाई बायोग्यास चुल्हो बालेर देखाएपछि गाबिसका सबै स्थानीय आकर्षित भएको पौडेलले बताए ।
गोबरग्यास चुल्होको प्रयोगले भाडा कालो नहुने, चुल्हो फोहोर पनि नहुने र स्वास्थयमा पनि फाईदा हुने बुझेपछि हामी सबैले बायोग्यास चुल्हो प्रयोग गर्ने थालेका छौ, स्थानीय सिरीमाया अधिकारीले भनिन् । ‘पहिला सबै चुल्हो उही हो जस्तो लाग्थ्यो’ अधिकारीले भिनन्, ‘छिमेकीले प्रयोग गरेको देखेपछि आफु पनि बायोग्यास चुल्हो प्रति आकर्षित भए ।’गोबरग्यासको चुल्हो प्रयोग गर्ने संख्या बढेसँगै दाउरा खोज्नका नाममा हुने रुख कटान हुन छाडेको छ । दाउराको सट्टा स्थानीयहरु घाँसमा जोड गर्छन् । बायोग्यास चुल्हो बाल्नका लागि पशुपालन गर्ने स्थानीयको संख्या पनि बढेको छ । गाईभैसीको गोबरको प्रयोगबाट बायो ग्यास निकाल्न सकिने भएकाले पनि पशुपालन व्यवसाय बढेको डाडागाउँ १ का अनन्त प्रसाद पौडेलले बताए ।