Wednesday, February 19, 2014

लाङटाङका स्थानीय हिमचितुवाको अनुगमन र संरक्षणमा जुट्दै


निराजन पौडेल
रसुवा
हिमाली राजा भनेर चिनिने विश्वकै दुर्लभ तथा लोपउन्मुख वन्यजन्तुमा सुचिकृत हिमचितुवा संरक्षणमा लाङटाङका स्थानीय त्यसको अबस्था बारे अनुगमनमा जुट्ने भएका छन् ।
स्थानीयले अनुगमनका लागि चार वर्ष अघि देखि आफैले हिमचितुवा संरक्षणमा समिती समेत बनाएका छन् । हिमचितुवा संरक्षणमा बनेको समिती र विश्व वन्यजन्तु कोष सहितको टोली फाल्गुणको तेस्रो हप्ता बाट हिमचितुवाको अबस्था, र बासस्थानको बारेमा अनुगमन गर्ने तयारीमा लागेको लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका प्रवन्ध निर्दैशक गौतम पौड्यालले बताए ।
लाङटाङ क्षेत्रमा हिउँ चितुवा छैन लोप भईसक्यो भनेर परस्पर बिरोधाभास पुर्ण खबर आउन थालेपछि स्थानीय आफ्नै सक्रियतामा यसको अनुगमनका लागि जुट्ने भएका हुन् । हिउ चितुवा संरक्षण समितीले हिउँ चितुवाको अनुगमन र संरक्षण सम्बन्धि तालिम समेत लिईसकेका छन् । हिउँ चितुवा संरक्षण समितीमा स्थानीय कञ्चनजंगामा गएर हिउँ चितुवा अनुगमनबारे जानकारी समेत लिएर आईसकेको विश्व वन्यजन्तु कोष तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना प्रवन्धक पौड्यालले बताए । हाल स्थानीय हिउँ चितुवाको अनुगमन र बासस्थानका लागि हिमालमा जानका लागि ट्रेकिङ तालिम लिईरहेको निकुञ्जले जनायो ।
हिमचितुवाको संख्या एकिन नभए पनि यसको अबस्था के छ भनेर अहिले गाउँका सबै स्थानीय यसको अनुगमनका लागि जुट्ने तयारी भईरहेको लाङटाङ हिउँ चितुवा संरक्षण समितीका अध्यक्ष सोनाम साङ्बो तामाङले बताए । ‘चार वर्ष अघि सम्म ६ देखि ७ वटाको संख्यामा रहेको अनुमान थियो, अहिले दुई वटा सम्म छन् कि भन्ने अनुमान हामिले गरेका छौ, तामाङले भने ‘अब फागुनको अन्तिम साताबाट हिमचितुवाको अनुगमनका लागि हिमालमै गएर बुझ्दैछौ ।’ उनका अनुसार हिमचितुवा अनुगमनका लागि सात दिन सम्म हिमालमा क्याम्प खडा गरेर बस्ने तयारी भईरहेको छ । हिमचितुवाको अनुगमन र अबस्था पत्ता लगाउनका लागि विश्व वन्यजन्तु कोषका पदाधिकारी र लाङटाङमा हिम चितुवा संरक्षणमा सक्रिय भएका स्थानीय हिमालमा अध्ययनका लागि जाने तामाङले बताए । लाङटाङ घम्न आएका एक स्वीजरल्याण्डका नागरिकले सात महिना अघि हिउँचितुवाको तस्बिर समेत कैद गरेकाले हिउँ चितुवा भएको अनुमान गर्न सकिने अध्यक्ष तामाङ बताउँछन् । हिम चितुवा दैनिक ४० किलोमिटर प्रतिगतिमा हिड्ने र यसको बासस्थानको दुरी लामो भएकाले तिब्बती क्षेत्र तर्फ गएको हिमचितुवा फर्केर आउ जाउँ गर्ने सक्ने अनुमान छ । विश्वमै तिब्र गतिमा लोपोन्मुख हिउँ चितुवाको शारिरीक बिशेषता र यसको प्राकृतिक जीवनचक्र र मानव सभ्यताको गहिरो सम्बन्ध रहेको छ । यसको बिनासले मानव सभ्यतानै बिनास तर्फ लागिरहेको वातावरणबिदहरु बताउँछन् ।
जलवायु परिवर्तन सँगै यसको प्रभावले हिउँ चितुवामा परेको प्रभाव र यसको संरक्षणका लागि स्थानीयले हिमालमै बसेर अध्ययन र अबलोकन गर्नेछन् । पालेका पशुचौपाया खाईदिने हुदाँ हिमाली भेग लाङटाङका स्थानीयले परम्परागत सत्रु मान्दै आएकोमा अब भने यसको संरक्षणमा गाउँका सबै एक जुट भएर लाग्दैछन् । हिमचितुवालाई हानि नोक्सान नहोस भनेर लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले पशु बिमाको कार्यक्रम समेत गरेको छ । स्थानीयले पशु चौपायाको नोक्सान गरेको रिस र आवेगमा आएर हिमचितुवा नमारियोस भनेर पशु बिमाको अबधारणा ल्याएको निकुञ्जले जनाएको छ । प्राकृतिक पद्धति अर्थात् ईको सिस्टमका लागि लोप हुन नहुने यो जनावरको संख्याको अबस्था के कस्तो छ भन्ने पत्ता लगाउनका लागि पनि स्थानीय संरक्षण र अनुगमनका लागि जुट्ने भएका हुन् । हिमचितुवा संरक्षण र अनुगमनका लागि जिल्लामा पहिलो पटक यसरी स्थानीय जुट्दै छन् ।
प्रारम्भिक अनुगमन अनुसार विश्वमा हिमचितुवा सात हजारको हाराहारीमा र नेपालमा तीन सय देखि पाँच सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । यो वन्यजन्तु विश्वको १२ मुलुकमा पाईन्छ । हिमचितुवालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । नेपालको पुर्वी कञ्चनजंगा संरक्षण क्षेत्र देखि पश्चिमको अपिनम्पा संरक्षण क्षेत्र भित्रका १२ निकुञ्ज, शिकार आरक्षण र संरक्षण क्षेत्र भित्रको हिमाली भेगमा पाईन्छ ।